News
आर्यनको बुढ्यौली गेटअप
Added: 2014-12-18

काठमाडौं– चकलेटी अभिनेताका रुपमा थुप्रै फिल्म खेलेका आर्यन सिग्देल पर्दामा पहिलोपल्ट बुढ्यौलो गेटअपमा देखिनेभएका छन्। मंगलबार गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको फिल्म ‘होमवर्क'को उद्घोष कार्यक्रममा आर्यनले आफूलाई नयाँ अवतारमा सार्वजनिक गरेका छन्। उनी सेतै फुलेको कपाल, हातमा किताब र हाफप्यान्ट लगाएर स्कुल युनिफर्ममा सञ्चारकर्मीसामु प्रस्तुत भएका थिए।


‘होमवर्क'मा आर्यनले प्रौढ उमेरको तर स्कुल पढ्न जाने पात्रको भूमिका निर्वाह गर्दैछन्। निरक पौडेलले निर्देशन गर्न लागेको फिल्ममा आर्यनसँगै नम्रता श्रेष्ठ, विजय लामा, गौरी मल्ल आदि कलाकारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारी दिइयो।
मंगलबार नै गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र सातवटा फिल्म निर्माण गर्ने घोषणा गरेको छ। गोपीकृष्णले अन्य निर्मातासँगको सहकार्यमा ती फिल्म निर्माण गर्नेछ। मंगलबार ६ वटा फिल्मको मात्र घोषणा गरियो।
घोषणा अनुसार अभिनेत्री करिश्मा मानन्धर र नम्रता श्रेष्ठले एक–एक फिल्म निर्माणमा गोपीकृष्णसँग सहकार्य गर्नेछन् भने भैरव सापकोटा, गणेशदेव पाण्डे र दुई बंगलादेशी नागरिकले पनि गोपीकृष्णसँग मिलेर फिल्म बनाउनेछन्। भैरवको फिल्मलाई रेशराज आचार्यले र करिश्माको फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्नेछिन्।
गोपीकृष्ण मुभिजका संस्थापक अध्यक्ष उद्धव पौडेलले प्रविधि एनलगबाट डिजिटलमा रुपान्तरित भएका कारण बीचको समयमा गोपीकृष्ण मुभिज फिल्म निर्माणमा सुस्ताएको जानकारी गराए।
‘एनएफडिसीले अब पूर्ण रुपमा डिजिटल प्रविधि आत्मसात गरिसकेको छ,' उनले भने, ‘हामी उद्योगमा परिवर्तन देखिनेगरी काम गर्न तयार छौं।' उनले एनएफडिसीमा सुटिङ, सम्पादन, स्वरांकनदेखि इनकोडिङ कार्य सम्भव भएको जानकारी दिए।
गोपीकृष्णले सन् २०१५ बाटै फिल्म वितरणमा समेत हात हाल्ने जनाएको छ। गोपीकृष्ण ग्रुप अफ कम्पनिज तथा एनएफडिसी अध्यक्ष निकिता पौडलले नीर शाह निर्देशित ‘सेतो बाघ'बाट यसको थालनी गर्ने जानकारी गराइन्। उक्त फिल्म आगामी चैत २७ मा ‘नाइँ नभन्नु ल ३' र ‘हवल्दार सुन्तली'सँगै रिलिज हुनेछ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com